Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


वी.पी. प्रतिष्ठानमा मेडिसिन अपडेट २०२२ सम्पन्न

एक्सन खबर


वी.पी. प्रतिष्ठानमा मेडिसिन अपडेट २०२२ सम्पन्न

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रिय स्तरको मेडिसिन अध्यावधिक सम्पन्न भएको छ । करिब दुई दशक पछि दोश्रो पटक गत बैशाख ९ र १० गते उक्त अध्यावधिक प्रतिष्ठानको मेडिसिन विभागको आयोजनामा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा डा. गिरीले प्रतिष्ठानको शिक्षा, स्वास्थ्य र अनुसन्धानका पाटाहरुलाई समय सापेक्ष सुधार गर्दै मुलुकको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा टेवा पुर्याउन योगदान गर्ने बताए । कार्यक्रममा देशभरीबाट चिकित्सा शास्त्रका विभिन्न विधाका विशेषज्ञहरु भेला भई हर्मोन रोग, अर्बुद रोग, मृगौला रोग, पेट सम्बन्धि रोग, मुटु रोग, रगत सम्बन्धि रोग, बाथ रोग र फोक्सो सम्बन्धि रोगहरुका बारेमा अध्यावधिक गराएका थिए ।

नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्ड अनुसार, नसर्ने किसिमका दिर्घकालिन रोगहरुको उपचार पद्धतीको निर्देशिका पनि तैयार भईसकेको भन्दै त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले मेडिसिन अपडेट आयोजना गरिएको थियो ।

कार्यक्रमका सल्लाहकार प्रा.डा. नरेन्द्र भट्टका अनुसार यस्ता किसिमका अपडेट कार्यक्रमहरुले चिकित्सकीय क्षेत्रमा प्रतिपादन हुने नयाँ नयाँ सिद्धान्तहरुलाई क्लिनिकल प्रयोगमा कार्यन्वयन गराउन गहन भुमिका खेल्छ ।

नेपालमा सरुवा रोगले भन्दा नसर्ने रोगबाट मृत्यु हुने विरामीको संख्या अत्याधिक बढि रहेको जानकारी इन्टर्नल मेडिसिन विभागका प्राध्यापक तथा कार्यक्रमका कन्भेनर डा. संजिव कुमार शर्माले दिए ।

कार्यक्रमका सभापति तथा प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले नसर्ने रोग अब विकसित देशको मात्र नभई विकासोन्मुख देशको पनि समस्या रहेको जनाए । ‘राज्यले यस्ता रोगको रोकथामका लागि समय र स्थान सापेक्ष निती निर्माण गरि सो को यथोचित कार्यन्वयन गराउनु पर्दछ । केन्द्र र प्रदेशस्तरीय अस्पताल र स्वास्थ्य संस्थाहरुमा सो रोगको जटिलता भएका विरामीहरुलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधान मिलाउनु पर्छ ।’ डा. मास्केले भने ।

त्यस्तै पालिका, जिल्ला र अञ्चलस्तरीय स्वास्थ्य संस्थाहरुमा चाँडो भन्दा चाँडो निदान गर्ने प्रणाली विकसित गर्नुपर्ने केन्द्रीय सरकारको मातहतमा रहेका मेडिकल कलेजहरुमा सो सम्बन्धि नयाँ प्रविधि, ज्ञान, खोजका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने राय डा. मास्केको छ ।  

कार्यक्रमको मूल नारा ‘दिर्घकालिन गैर सञ्चारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्तिः नेपालले कहाँ मुख्य भूमिका खेल्नुपर्छ ?’ रहेको थियो । कार्यक्रममा प्रतिष्ठान तथा अधिराज्य भरिका डाक्टर, नर्स र स्वास्थ्यक्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरु गरि ३०० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रमका कार्यकारी सचिव तथा इन्टर्नल मेडिसिन विभागका बाथरोग विज्ञ डा. विवेक कट्टेलले बताए ।

पहिलो पटक पनि सन् २००३ मा उक्त कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो । सो कार्यक्रम इन्टर्नल मेडिसिन विभागका तत्कालिन विभागीय प्रमुख प्रा.डा. प्रह्लाद कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।













0 प्रतिकृया