महानगरकाे वृहत्तर विकासकाे याेजना सहित विरगञ्ज एमालेले सार्वजनिक गर्याे घाेषणापत्र
एक्सन खबर
पर्सा । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । मुर्लीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमाले वीरगञ्ज महानगर कमिटिले घोषणापत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा मेयर पदका उम्मेदवार विजयकुमार सरावगीले निर्वाचित भएपछि प्रतिवद्धता पत्रमा घाेषणा गरिएका प्रतिबद्धताहरू क्रमशः पुरा गर्दै जाने बताए । उनले कोरोना महामारी र आफु आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरु पुरा हुनसकेकाे बताउँदै अब जितेपछि अधुरा काम सँगै नयाँ योजनाको थालनी गरी वीरगञ्जको विकासमा जोड दिने जिकीर गरे । बाँकी रहेका अधुरा योजना र काम पूरा गर्न आफूले वीरगञ्जको मेयर पदमा पुन: उम्मेदवारी दिएको सरावगीकाे भनाइ छ ।
कार्यक्रममा पर्सा इन्चार्ज प्रभु हजराले घोषणा पत्रमा सार्वजनिक गरिएका योजनालाई पार्टीले ईमान्दारिताका साथ कार्यान्यन गर्न सहयाेग गर्ने बताए । भने, घोषणापत्र मस्यौदाकार समितिका संयोजक समेत रहेका अरविन्द सिंहले प्रतिवद्धता पत्र मेयरको मात्र नभई सिंगो पार्टीको जिम्मेवारी भएको बताए । उनले प्रतिवद्धता पत्र निर्माण गर्न समाजका हरेक वर्ग र समुदायसँग प्रत्यक्ष भेटगरी सुझाव संकल्न गरिएको जानकारी दिए ।
प्रतिवद्धता पत्रमा विरगञ्जकाे बृहत्तर विकासका याेजनाहरू समेटिएका छन् । सडक, ढल निर्माण, खानेपानी, भौतिक पूर्वाधार विकास, फोहर व्यवस्थापन, शिक्षा ,स्वास्थ्य, कृषि क्षेत्रको विकास, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलगायतको विषयहरू घाेषणापत्रमा उल्लेख छ ।
घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष जयप्रकाश थारु, संबिधानसभाका सदस्य विचारी यादव, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बसरुदिन अन्सारी, मेघराज हजरालगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा एमाले जिल्ला कमिटि सदस्य श्याम बन्जाराले गरेका थिए । भने, वीरगञ्ज महानगर निर्वाचन परिचालन समितीका संयोजक अरबिन्द सिंहको अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
0 प्रतिकृया