नेकमा नयाँ विद्यार्थीको लागि स्वागत तथा शैक्षिक अभिमुखीकरण
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक सत्र ०७८र७९ मा भर्ना हुन आएका विद्यार्थीलाई स्वागत तथा अभिमूखीकरण सञ्चालन गरेको छ । इन्जिनियरिङ विधाका विभिन्न ६ विषयहरुमा अध्ययनका लागि कलेजको प्रवेश परीक्षा पासगरी भर्ना भएका ३५४ विद्यार्थीहरुलाई स्वागत तथा अभिमूखीकरण राखेको हो ।
अभिमुखीकरण कार्यक्रममा बि.ई. सिभिल, बि. ई.कम्प्युटर, बि.आर्टिटेक्चर, बि.ई. सिभिल एण्ड रुलर, बि.ई. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स तथा बि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षाका संभावना, कलेजको पठनपाठन, शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थीले पालन गर्नुपर्ने अनुशासन लगायतका बारेमा जानकारी दिइएको थियो ।
सो अवसरमा बोल्दै कलेजका भाइस प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले नेपालको इन्जिनियरिङ शिक्षामा नेकको विशिष्ट र गौरवान्तिक पहिचान रहेको बताउँदै शुल्क लिएर पढाउने कलेजहरुमा नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट रहेको बताए । विद्यार्थीले ४ वर्ष कठोर मेहनत गरेर पढे त्यसपछि अवसरै अवसर पाउने बताउँदै शिक्षा हासिल गर्ने कुरामा कलेज र शिक्षकसँगै विद्यार्थी पनि तयार हुनुपर्ने बताए । शिक्षकले पढाएको विद्यार्थीले ग्रहण नगर्ने हो भने, पढाउनुको अर्थ नरहने भाइस प्रिन्सिपल भण्डारीको भनाई छ । विद्यार्थी र अभिभावकको सपना साकार पार्न कलेज परिवार सदैव तत्पर रहेको जनाए ।
याे पनि हेर्नुहाेस्
कलेजको शैक्षिक अनुशासन कायम गर्न सबैभन्दा पहिले विद्यार्थी आफैं सचेत हुनुपर्ने बताउँदै कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराईले विद्यार्थीको पढाई, कलेज आएको नआएको, अनुशासन पालना गरेको नगरेको सम्बन्धीत विषयका शिक्षक, काउन्सलर तथा विभागले नियमित अनुगमन, निरिक्षण गर्ने गरेको बताए । व्याचलर तहमा पुगेका विद्यार्थीहरु प्रोफेसनल लाइफमा प्रवेश गरीसकेको भन्दै भट्टराईले कुनैपनि विषयगत विषयका बारेमा विद्यार्थीले शिक्षक तथा फ्याकल्टीहरुसँग निर्धक्क सोध्न सक्ने जनाए ।
कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले नेकमा पढेका विद्यार्थीहरु संसारका जुनसुकै देशमा गएर पढ्न सक्ने, स्थापित हुन सक्ने दावी गर्दै ४ वर्षको समय विद्यार्थीका लागि अति महत्वपूर्ण रहेकोले नयाँ सिप सिक्ने, ज्ञान सिक्ने विषयमा ध्यान केन्द्रीत गर्न आग्रह गरे । ‘४ वर्षमै पढाई पुरा गर्नुपर्छ । दायाँ बाँया गरेर वहकिनु हुँदैन । यो ४ वर्ष सिकेको सिपले तपाईहरुको भविष्य बनाउँछ ।’ उनले ब्याचलर्स पुरा गरेपछि नेपालमै पनि अवसरहरु पाइने बताए । ‘स्वदेशमै पनि नेपाल टेलिकम, एनसेल, विद्युत प्राधिकरण जस्ता प्रतिष्ठित संस्थामा नेकबाट उच्च शिक्षा लिएका जनशक्ति रहेका छन् । उर्जा क्षेत्रमा एमसीसी जस्तो ठूलो परियोजना आएकोले आगामी दिनमा अवसरका ढोकाहरु धेरै रहेका छन् । सडक, पूर्वाधार निर्माण, सूचना तथा सञ्चारका क्षेत्रमा धैरै जनशक्तिहरु आउँदा दिनहरुमा माग हुन्छ ।’
नेकबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिको बजारमा धेरै डिमाण्ड रहेको दावी गर्दै डा. श्रेष्ठले भने–‘अहिले पनि मलाई दिनहुँ जनशक्ति चाहियो भनेर इन्क्वाएरी आउँछ ।’ नेकमा पढेको भन्ने वित्तिकै नेपालकै धेरै कम्पनीहरुले आँखा चिम्लेर विस्वास गरिहाल्ने उनको भनाई छ ।
नेपाल इन्जिनियरिङ कलेज सरकारले अनुदान दिएकावाहेक विद्यार्थीको शुल्कबाट चलेका कलेजहरु मध्ये नेपाल इन्जिनियरिङ परिषद्बाट स्थायी स्कीकृति पाउने एकमात्र कलेज हो । विद्यार्थीको शुल्कबाट चल्ने नेपालका अन्य कुनैपनि कलेजसँग स्थायी स्वीकृति छैन । पोखरा विश्वविद्यालयको शैक्षिक उन्नयनमा समेत कलेजको महत्वपूर्ण योगदान रहेको छ ।
कलेजको शैक्षिक रेकर्ड अत्यन्त राम्रो रहेकोले नेकमा पढेका विद्यार्थीहरु विश्वका प्रतिष्ठित कलेजहरुमा छात्रबृत्ति समेत पाएर अध्ययनका लागि गइरहेका हुन्छन् । नेकले विद्यार्थीको पढाई र प्रमाणपत्रलाई अन्तराष्ट्रिय रुपमा मान्यता दिलाउन विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुसँग सहकार्य गर्ने गरेको छ । नेकमा अध्ययन गर्दागर्दै अन्तराष्ट्रिय कलेजहरुको आकर्षक छात्रबृत्ति पाएर अध्ययनका लागि जाने विद्यार्थीको लिष्ट लामो छ ।
0 प्रतिकृया