रियलकाे मैदानमा मेसी, नेइमार एम्बापेकाे चलेन जादु, बेन्जेमाकाे ह्यट्रिक
एक्सन खबर
काठमाडौं । फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरे ।
खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसँगै सहज जित तर्फ अग्रसर भएको थियो ।
तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउदै बराबर गोल गरे । उनले भिनिसियस जुनिअरको पास सदुपयोग गरे । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याट्रिक पूरा गरेसँगै याे वर्ष पिएसजीकाे च्याम्पियन्स लिग जित्ने सपना तुहियाे ।
रियलको जितसँगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत स्टार खेलाडी भित्राएको थियो ।
आजनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
0 प्रतिकृया