Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँः जेलेन्स्की

एक्सन खबर
फागुन, २५, २०७८


रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँः जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो ।

यस्तै किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी पनि गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो । रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।

‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ ।’ युक्रेनको सशस्त्र फौजले निकालेकाे एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।

रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन

रुस र युक्रेनबीचकाे युद्धमा परेर युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् ।

पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।

पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए । पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।













0 प्रतिकृया