संसदमा एमसीसीः ध्वनी वा मत बिभाजन ?
एक्सन खबर
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन् कि मत बिभाजनमार्फत गर्छन् भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो ।
सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकमा सरकारले बिहिवारको संसद स्थगित गराएपछि सो बिषयलाइ महत्वका साथ हेरिएको छ । मत बिभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहिवारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो ।
सो योजनाको बारेमा गृहमन्त्री बालकृष्ण खाँडले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन, सभामुख सापकोटाले आफनो पदीय भुमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन् । जसकाकारण, एमसीसीमा बिबादमा पर्दै आएका सभामुख सापकोटा बिहिवार देखी थप बिबाद र आशंकाको घेरामा थप पर्न गएका छन् ।
माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाएपछि सरकारले संसद बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले जनाउँदै आएको छ ।
सो योजना सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार प्रबिद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत बिभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन । ‘२०४७ साल देखी हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले भने ।
कार्कीले वालुवाटारमा बिहिवार साँझ यदी सैद्धान्तिक छलफलमा नै मत बिभाजन गर्न थालियो भने कुनैपनि सरकारले काम गर्न नसक्ने बताएका थिए । ‘यसले संसद नै अप्ठयारो अवस्थावाट सधैंभरी गुज्रन्छ, यो काम गर्नु हुन्न ।’ सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत बिभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाई छ ।
0 प्रतिकृया