Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


दुर्गमलाई बरदान बन्दैछ मध्यपहाडी लोकमार्ग

एक्सन खबर
१० माघ २०७८


दुर्गमलाई बरदान बन्दैछ मध्यपहाडी लोकमार्ग

बागलुुङ । बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि दुर्गमको परिचय बदलिएको छ । दुर्गम मानिने निसी क्षेत्र सुगम बन्दै गएको छ । विकास निर्माणले गति पाएको छ । जिल्ला सदरमुकाम एकै दिनमा आउजाउ गर्न सक्ने अवस्था सृजना भएको हो ।

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङको लागि बरदान सावित भएको छ । निसी गाउँपालिकको मुख्य सडक खण्ड नै मध्यपहाडी लोकमार्ग हो ।  निसी दुर्गमको परिचय बद्लै सुगम र सेवा सुविधाको विस्तार गर्दै गएको छ । लोकमार्गको कालोपत्रे सडक नै निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने मध्यम बनेको छ । कुनै दिन जिल्ला सदरमुकामसम्म जान तीन चार दिनको पैदल यात्र गर्न बाध्य निसीबासी अहिले एकै दिनमा पुग्न सक्छन् । सडक बनेपछि सञ्चार सेवा पनि विस्तार भएको छ ।

पश्चिम बागलुङलाई लोकमार्गले जोडेपछि लोकमार्ग आसपासमा सहरीकरण बदै गएको छ । लोकमार्ग आसपास क्षेत्रको जग्गाको मूल्यसमेत बढदै गएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर  मल्लको भनाइ छ । सडक सञ्जाल विस्तार हुनुअघि सित्तैमा गरी खान पाइने जग्गाको भाउ अहिले अकासिएको छ । समथर खेतबारीमा पक्कीघर बन्न थालेका छन ।

लोकमार्गले यहाँको दश स्थानीय तह मध्य बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका जोडेको छ ।

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भिमगिठे, हाँडिखोला, रिघाफेदी,  ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ । लोकमार्ग विस्तार भए पछि जनतालाई सरकारी सेवा सुविधाको उपयोग, दैनिक उपयोग्य बस्तुको खरिद विक्री र गाउँको उत्पादनलाई बजारीकरणमा सजिलो भएको बडिगाँड गाउँपालिका–३ का वडाध्यक्ष खडकबहादुर पुनले बताए ।

पहुँच मार्गलाई ध्यानमा राखेर जिल्ला सदरमुकामदेखि निसीपाती हाल्नेसम्म युवाहरूले लोकमार्ग आसपासमा नयाँ–नयाँ रेष्टुराँ, होटल, माछा तथा बंगुर फर्म, गाईभैंसी फर्म सञ्जाल गरेका छन् । लोकमार्गको पहुँच विस्तार भएपछि बागलुङ र रुकुमको सीमा पाती हाल्नेलाई लिएर विवाद चर्किएको छ । पाती हाल्ने पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदा दुवै जिल्लाले आफ्नो दाबी गरेका हुन् । सडक विस्तार हुनुपूर्व गाईभैंसी चरिचरणको लागि दुई जिल्लाका गोठालाबीच विवाद भएपछि सरकारी स्तरमा विवाद देखिएको लोकमार्ग विस्तार भए पछि हो ।

लोकमार्गले पुरै नचिरे पनि बुर्तिवाङ बजारलाई नेपाल सरकारले मध्यपहाडी लोकमार्ग पर्ने दशवटा नमुना सहरको रुपमा विकास गर्न थालेको छ । काठेखोला गाउँपालिका–५ बिहुँको घोडाबाँधे र रिजाल चोकको क्षेत्र होटल व्यवसायिले भरिएका छन । मध्यपहाडी लोकमार्ग बागलुङको जिरो किलो मिटर उपल्लाचौरमा बस्ती विस्तार भएको छ ।

लोकमार्ग पश्चिम बागलुङको लागि बरदान नै भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर मिलन श्रेष्ठले बताए । जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन् । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।

बागलुङ लोकमार्गले सबै भन्दा बढी दुरी चर्चेको जिल्ला हो । कुल १३० किलो मिटर सडक मध्य १०५ किलो मिटर कालोपत्रे गरिएको छ । बाँकी २५ किलो मिटर सडक कालोपत्रेको गर्न बाँकी छ ।

बागलुङ बजारको उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–५ घोडाबाँधेसम्मको २० किलोमिटर, बुर्तिवाङ–पातीहाल्ने सडक खण्डको पाँच किलोमिटर सडकमा कालोपत्रेको गर्न बाँकी छ । जिल्ला प्रवेश नाका मालढुँगादेखि उपल्लचौरसम्मको पाँच किलोमिटर सडकको विषयका केही प्रक्रिया अघि बढेको छैन ।

पाँचथर चिया भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदुरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ । लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ ।

तस्विरः निसीखोला गाउँपालिकाको भलकोट क्षेत्र 













0 प्रतिकृया